काठमाडौं, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई चुनौति सामना गर्न तयार रहेको जवाफ दिएका छन् । कांग्रेस महामन्त्री थापाले आज गुल्मीमा आयोजित कार्यक्रमबाट पूर्वराजालाई संवैधानिक व्यवस्था प्रयोग गरेर चुनाव लड्न र व्यवस्था परिवर्तन गर्न चुनौति दिएका थिए ।
महामन्त्री थापाको उक्त अभिव्यक्ति खण्डन गर्दै राप्रपा सांसद शाहीले राजालाई दिएको चुनौति सामना गर्न आफूहरुनै तयार रहेको बताएका हुन् । उनले महामन्त्री थापालाई ‘कुन ठाउँबाट चुनाव लड्ने ?’ भन्दै प्रश्नसमेत गरेका छन् ।
साथै, उनले अहिलेको व्यवस्था ढल्दै गएपछि महामन्त्री थापा दिउँसै बर्बराएको उनको टिप्पणी छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्ः
आज काङ्ग्रेसका महामन्त्री एवं अमेरिकी परियोजना एमसीसी पास गर्ने मुख्य पात्रमध्ये एउटा पात्रले गुल्मीमा पुगेर राजालाई चुनाव लडने चुनौति दिनुभएछ । राजालाई चुनौती दिनपर्दैन हजुर, तपाईंको चुनौतीको सामाना गर्न हामी तयार छौ । रसामाना गरेका पनि हौ, एक चोटि स्मरण गरनुहोस् यहि चुनावमा रुपहेन्दीमा तपाईंका तत्कालीन गृहमन्त्री एवं काङ्ग्रेसका शीर्षनेताको राप्रपासँगको पराजय । अनि नवलपरासीमा तपाईंकै नेता एवं पूर्वगृह राज्यमन्त्रीको पराजय । अब भन्नुहोस्– कुन ठाउँ, कताबाट आउने चुनावलडने हो ? हामी तयार छौ।
भारतको दिल्लीमा अमेरिकन र युरोपियन युनियनको सहयोगमा १२बुदेँ दिल्ली सम्झौताले ल्याएको बिदेशी ब्यबस्था ढल्दै गएपछि तपाईंका मालिक आतिएपछि तपाईं दिउँसै बर्बराउनु स्वभाबिक हो । हामीले यसलाई सामान्य रुपमा लिएका छौं ।
तपाईलेले घरमा बाबूआमा र देशमा राजाको सम्मान गर्न सिक्नुहोस् । आज हामी राष्ट्रपति ब्याबस्था नमाने पनि उतिकै सम्मान गर्छौ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !