देशभित्रको अर्थतन्त्रमा शिथिलता देखिएका वेला अर्थतन्त्रका बाह्य क्षेत्रका सूचकमा भने निरन्तर सुधार देखिएको छ।
नेपाल राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार भदौमा विदेशी मुद्राको सञ्चिति १२ अर्ब एक करोड अमेरिकी डलर बराबर पुगेको छ। यो गत असार मसान्तमा ११ अर्ब ७१ करोड डलर थियो।
गत आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिति तीव्र गतिमा खस्किएपछि विदेशबाट वस्तु र सेवाको आयात गर्न रकम नै नहुने हो कि भन्ने त्रास फैलिएको थियो। तर, रेमिटेन्सको आयमा वृद्धि र आयात घटेपछि विदेशी मुद्राको सञ्चिति लगातार बढ्दै गएको देखिएको हो।
अहिलेको सञ्चितिले १० महिना नौ दिनको वस्तु र सेवाको आयात थेग्न सक्ने राष्ट्र ब्यांकले जनाएको छ।
केन्द्रीय ब्यांकका अनुसार चालू आर्थिक वर्षको भदौसम्ममा दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ। यो गत वर्षको तुलनामा २२.१ प्रतिशतको वृद्धि हो। अमेरिकी डलरमा पनि साउन र भदौ गरी एक अर्ब ७३ करोड डलर रेमिटेन्स भित्रिएको छ।
रेमिटेन्सको वृद्धिले विदेशी मुद्राको सञ्चितिलाई भरथेग गरेको देखिएको हो। अर्कातिर, आयात पनि खस्किएको छ। भदौसम्ममा नेपालले रु. दुई खर्ब ५९ अर्ब ७५ करोड मूल्यको वस्तु आयात गरेको छ। यो गत वर्षको तुलनामा ५.१ प्रतिशतले कमी हो।
व्यवसायीहरूले बजारमा वस्तु र सेवाको माग कम हुँदा आयात घटेको बताउने गरेका छन्। पेट्रोलियम पदार्थ, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, औषधी, एमएस विलेट लगायतका वस्तुको आयात घटेको केन्द्रीय ब्यांकले जनाएको छ।
आयातसँगै निर्यात पनि घटेको छ। साउन र भदौमा नेपालले रु. २६ अर्ब ४५ करोडको मात्रै वस्तु निर्यात गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा ७.८ प्रतिशतले थोरै हो। यो अवधिमा पाम तेल, सोयाबिन तेल, जुटका सामान, ऊनी गलैचा, औषधि (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात घटेको राष्ट्र ब्यांकले जनाएको छ।
आयात घटेकाले देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर स्थिति पनि बचतमा रहेको देखिएको छ। भदौसम्ममा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा छ। गत वर्षको यही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा थियो। भदौमा चालू खाता पनि रु. २३ अर्ब ५० करोड बचतमा छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !