काठमाडौं,२ कार्तिक । नेपालमा क्रियाशील रहेका मानव अधिकारकर्मी,पत्रकार तथा राजनीतिक विश्लेषकहरुले गत शनिबार इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणपछि प्यालेस्टाईनको गाजा शहरमा भएको आक्रमणप्रति निन्दा व्यक्त गरेका छन् ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले बदला लिने नाममा इजरायलले युद्धका सबै नियमहरूको उल्लंघन गर्दे गाजा शहरमा नरसंहार मच्चाइरहेको बताएका छन् । विश्वको अत्याधुनिक हतियारले लैस उच्चस्तरको तालिमप्राप्त सैनिक प्रयोग गर्दै इजरायलले गाजामा गैरसैनिक नागरिकहरू,बालबालिका, वृद्धवृद्धाको हत्या गरिरहेको छ। पत्रकार, चिकित्सक र मानवीय सहायताकर्मीहरू मारिएका छन् । गैरसैनिक आवास क्षेत्रमा लगातार बमवर्षा गरेर ध्वस्त पारेको छ। औषधी, पिउने पानी, विद्युत, इन्धन लगायतका अत्यावस्यक वस्तुहरूको आपूर्ति रोकेको उनीहरुले जनाएका छन् ।
अधिकारकर्मीहरुले उक्त नरसंहार तत्काल रोकेर शान्ति स्थापनाका लागि पहल गर्नसमेत आग्रह गरेका छन् । अधिकारकर्मी तथा राजनीतिक विश्लेषकहरु खगेन्द्र संग्रौला, पीताम्बर शर्मा, झलक सुवेदी, सुधीर शर्मा, हरि रोकालगायतले आज एक विज्ञप्ति जारी गर्दै हामी आफूहरु आम प्यालेष्टाइनी जनताका अधिकारका पक्षमा रहेको बताएका छन् । ‘प्यालेष्टाइनीहरूलाई अलग राज्यका रुपमा संगठित हुने अधिकार बिना त्यस क्षेत्रमा संघर्ष रहिरहनेछ भन्ने हामीलाई विश्वास छ । इजरायल र प्यालेष्टाइन विच दुई अलग र स्वतन्त्र राज्यको अवधारणाका आधारमा समस्या समाधान गरे मात्र पस्चिम एशियामा दिगो शान्ति स्थापना हुनेमा हामी विश्वास गछौं ’। विज्ञप्तिमा भनिएको छ ।
केही हप्ताअघि प्यालेष्टाइनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि अहिले इजरायलले पनि प्यालेष्टाइनीतर्फ आक्रमण तीव्र बनाएको छ । सो आक्रमणका कारण दुवैतर्फ ठुलो जनधनको क्षति भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !