काठमाडौं : भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा पाँच पटकको विजेता अस्ट्रेलियाले न्यूजिल्याण्डविरुद्ध ५ रनको रोमान्चक जित निकालेको छ।
हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियमा अष्ट्रेलियाले दिएको ३८९ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्याण्डले निर्धाति ५० ओभरमा ९ विकेट गुमाएर ३८३ रन मात्र बनाउन सक्यो।
उसका लागि रचिन रवीन्द्र एक्लैले ११६ रन बनाए पनि जित दिलाउन सकेनन्। न्यूजिल्याण्डका लागि डेभोन कोनवे २८ तथा विल योङले ३२ रनको योगदान दिए।
रवीन्द्रले तेस्रो विकेटका लागि डेरिल मिसेलसँग ७८ रनको साझेदारी गरे। मिसेल ५४ रन बनाएर आउट भए। त्यसपछि रवीन्द्रले टोम लाथमसँग ५४ र ग्लेन फिलिप्ससँग ४३ रनको साझेदारी गरे। रवीन्द्र ११६ रनमा आउट हुँदा न्यूजिल्याण्डको स्कोर २९३/६ थियो।
जेम्स निसमले आक्रामक पारी खेल्दै न्यूजिल्याण्डलाई जित नजिक पु-याएका थिए। अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको थियो र निसम ५१ रन बनाएर खेलिरहेका थिए।
अन्तिम बल खेल्नुअघि निसम ५८ रन बनाएर आउट भए। अन्तिम बलमा छक्का चाहिएको थियो, लोकी फर्गुसनले रन नै जोड्न सकेनन्।
अष्ट्रेलियाका एडम जाम्पाले ३ तथा जोस ह्याजलउड र पेट कुमिन्सले २/२ विकेट लिए।टस हारेर पहिले ब्याटिङ गरेको
अष्ट्रेलियाले ह्याभिड हेडको शतकको मद्दतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो।
उसका लागि ट्राभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात गरे। वार्नरले ८५ रनको योगदान दिए। ट्राभिस हेडले ५९ बलमा आफ्नो शतक पुरा गर्दै १०९ रन बनाए।
यो विश्वकपमा यो तेस्रो चाँडो शतक हो। यसअघि ग्लेन म्यक्सवेलले ४० तथा ऐडन मारक्रमले ४९ बलमा शतक बनाएका थिए।
यस्तै, मिचेल मार्सले ३६, तथा स्टीभन स्मिथ र मार्नस लाबुस्चेनले समान १८/१८ रन बनाए।न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३/३ विकेट लिए भने मिसेल सेन्टनरले २ विकेट हात पारे।
सुरुको दुई खेल गुमाएको अष्ट्रेलिया लगातार चार जितसँगै ८ अंकका साथ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।
समान ८ अंक जोडेको न्यूजिल्याण्ड रन रेटमा अगाडि भएका कारण तेस्रो स्थानमा छ।
पहिलो स्थानमा रहेको दक्षिण अफ्रिका र दोस्रो स्थानमा रहेको भारतको समान १०/१० अंक छ। तर भारतले एक खेल कम खेलेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !